रुपन्देही: कार्यालय जाने गाडी चल्न पाउने, अरु गाडी बन्द

0
1204

भैरहवा-रुपन्देहीमा भोलि आइतबारदेखि लकडाउन खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बजार खुल्न पाउनेछन्। रुपन्देही प्रशासनले शनिबार जारी गरेको आदेश अनुसार भोलि आइतबारदेखि व्यापार व्यवसाय खुल्नेछ। 

व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी रुपन्देही प्रशासनले आदेश जारी गरेको छ। लकडाउनका कारण सेवा बन्द गरेका सरकारी कार्यालयहरु र बैंक तथा वित्तिय संस्था पनि खुल्नेछन्। 

ती कार्यालय र अत्यावश्यक क्षेत्रका सेवा प्रदान गर्ने कार्यालयहरुमा जाने कर्मचारी गाडी लिएर कार्यालय जान पाउनेछन्। तर अरु निजी र सार्वजनिक सवारी साधन भने बन्द रहनेछन्। 

जिल्लाभित्र सरकारले अत्यावश्यक भनेर अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइनेछैन। तर मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन्।

यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन्।

यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहनेछ।  दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्। 

व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।

बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय,  संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन्।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ।

यस्तै विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here