भैरहवा–जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको बैठकले भदौ १४ गते राती १२ बजेसम्म लागि जिल्ला ‘लकडाउन’ गर्ने निर्णय गरिएको हो।
अत्यावश्यक सेवालाई निरन्तरता दिदै रुपन्देही जिल्लाभरि लागू हुने गरी संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम गतिविधि गर्न निषेध गर्ने गरी आदेश जारी गरिएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७ भदौ १ गते को निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ ७ गते राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजे सम्म गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आदेश विपरितका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही हुने समेत प्रमुख जिल्ला अधिकारी महादेव पन्थबाट जारी गरिएको आदेशमा उल्लेख छ।
कार्यालयले खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गर्न दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने लगायतको निर्णय गरेको छ।

