तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन

0
226

भैरहवा : हिन्दू महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज (बिहीबार) दर खाइँदै छ । नेपाली महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाने परम्परा छ ।

द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ ।

त्यसोत दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको बताउँछन् ।

‘निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ, भोलि निराहार व्रत बस्नु छ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा वर्तालुको स्वास्थ्यमा समस्या आउने गरेको छ, वेदान ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात सबैतिरबाट आत्मालाई रक्षा गर भनिएको छ, नसक्नेले निराहार व्रत बस्नुृपर्दैन,’ उनले भने ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिलो प्राथमिकता शरीरलाई दिएर मात्र धर्म साधना गर भन्ने मान्यताका आधारमा पनि स्वास्थ्य खराब हुने गरी व्रत बस्न नभनिएको अध्यक्षको गौतमले बताए ।

तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न उनले अनुरोध गरे । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान छ । नारीले व्रत गर्न नसक्दा उनका श्रीमानले व्रत गर्ने प्राचीन परम्परालाई हेर्दा पनि समग्र परिवारकै लागि व्रत बस्ने परम्परा सुरु भएको बुझिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here