काठमाडौं । नेपाल बैंकर्स संघले सर्वसाधारणलाई विद्युतिय माध्यम प्रयोग गरी घरबाटै बैंकिङ कारोबार गर्न अपिल गरेको छ ।
संघले सोमबार एक सूचनामार्फत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि विद्युतीय माध्यम प्रयोग गर्न अपिल गरेको हो ।
“डिजिटल बैंकिङ्ग (मोबाइल-इन्टरनेट बैंकिङ्ग) को माध्यमबाट प्राय: जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ् सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गर्दछौं,” संघले जारी गरेको सूचनामा भनिएको छ ।
डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अप्ठ्यारो परेको सम्बन्धित बैंकको शखामा फोनमार्फत् सम्पर्क गरि सहयोग लिन सक्ने बैंकर्स संघले जनाएको छ ।
एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङबाटै सकिने हुनाले अत्यावश्यक बाहेक बैंकमा नआउन संघले अपिल गरेको छ ।
यदि आफ्नो खाता वा खाताबाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोनमार्फत नै सम्फर्क गर्न सकिने बैंकर्स संघले जनाएको छ ।
“अत्यावश्यक अवस्थामाबाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्न सहयोग गरिदिनुहुन समस्त ग्राहकहरुमा अनुरोध गर्दछौं, घरबाटै कारोबार गरौं, आफू र अरुलाई सुरक्षित राखौं,” बैंकर्स संघको सूचनामा भनिएको छ ।