बुटवल-प्रदेश ५ को कोरोना भाइरसको संक्रमण, यसको प्रभाव र सरकारको तयारीबारे दैनिक अपडेट गराइरहने प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएपनि व्यक्तिगत गोपनियताका आधारमा नाम खुलाएका थिएनन्।
देश ५ कोभिड १९ व्यवस्थापनको प्रदेश स्तरीय सम्पर्क व्यक्ति र मन्त्रालयको तर्फबाट कोरोना भाइरसबारे दैनिक मिडिया ब्रिफिङ सञ्चालन गर्दै आएका उनी आफैले कोरोना भाइरसको संक्रमण भएको बताएका छन्।
उनमा कोरोना संक्रमण देखिएपछि शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ। मन्त्री बरालको रिपोर्ट नेगेटिभ आएको छ।